कस्तो रोग हो मस्तिष्कघात ?

Ratopati

मानिसलाई सताउने विभिन्न रोगमध्ये मस्तिष्कघात अर्थात ब्रेन स्ट्रोक पनि एउटा समस्या हो । विश्वमा हरेक वर्ष यो रोगले धेरै मानिसलाई सताइरहेको हुन्छ । हामीले यो कस्तो रोग हो, यसका लक्षण केके हुन्, उपचार कसरी हुन्छ र यसबाट जोगिन केके कुरामा सावधानी अपनाउन सकिन्छ भन्ने बारेमा डाक्टर सुवास फुँयालसँग कुराकानी गरेका छौँ । डा. फुँयाल न्युरो इन्टरभेन्सनिस्ट हुनुहुन्छ । उहाँले भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सबाट न्युरो इन्टरभेन्सनका बारेमा विशेषज्ञता हासिल गर्नुभएको छ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानी :

मस्तिष्कघात कस्तो स्वास्थ्य समस्या हो ?

मस्तिष्कघातलाई ब्रेन अट्याक पनि भनिन्छ । हामीले सुनिरहेको अर्को समस्या हृदयाघात हो, मुटुको नसा बन्द भएर आउने समस्यालाई हामी हर्ट अट्याक भन्छौँ । त्यस्तै दिमागको सानो वा ठूलो नसा बन्द भयो भने जुन लक्षण आउँछ त्यसलाई हामी मस्तिष्कघात भन्छौँ । यो एउटा इमर्जेन्सी कन्डिसन पनि हो, यसलाई मेडिकल इमर्जेन्सी पनि भनिन्छ ।

यसका लक्षणहरु कस्ता हुन्छन् ?

मस्तिष्कको सानो वा ठूलो नसा बन्द भएपछि बिरामीमा आउने लक्षणहरुलाई हामीले ‘बी फास्टे‘ भन्ने गर्छौँ । यसमा बि भनेको ब्यालेन्स हो ।  यदी बिरामीमा एक्कासि ब्यालेन्स बिग्रियो, उभिँदाखेरी उभिन सकेन लर्बरियो भने मस्तिष्कघातको लक्षणको रूपमा बुझिन्छ । अर्को ई भएको आई अर्थात आँखा । एउटा वा दुइटै आँखाले एक्कासि रूपमा देख्न नसक्नु वा आँखाले हेर्दा धमिलो देखिनु । एक्कासि यस्तो भयो भने यो पनि मस्तिष्कघातको लक्षण हो । 

यस्तै एफ भनेको फेस । फेसियल डिभेसन । जस्तो हाँस्दाखेरी मुख एकातिर बाङ्गो हुनु पनि मस्तिष्कघातको अर्को लक्षण हो । अर्को, ए भनेको आर्म हो । हात र खुट्टामा कमजोरी हुनु, नचल्नु, प्यारालाइसिस् हुनु । दुवै हात सीधा पार्दा एउटा हात तल खस्कनु । एक्कासि यस्तो भयो भने यो पनि मस्तिष्कघातको एउटा लक्षण हो । यस्तै एस भनेको स्पिच । बोलीमा लर्बराहट आउनु, एक्कासि रूपमा बोल्न नसक्नु, यो पनि एउटा मस्तिष्कघातको लक्षण हो । अर्को टी भनेको टाइम अर्थात समय हो । समय किन एकदमै महत्त्वपूर्ण हुन्छ भने मस्तिष्कघात हुँदा बिरामीलाई दुख्दैन किनभने दिमागमा दुःखाई ग्रहण हुँदैन । त्यही भएर एक्कासि रूपमा यी कुनै पनि लक्षणहरु आउँदा उहाँहरु तुरुन्त अस्पताल जानुहुन्न । हृद्यघात हुँदा मुटु दुख्छ तुरुन्त अस्पताल आउनुहुन्छ । तर मस्तिष्कघात हुँदा दिमागको कुनै पनि मोटो नसा बन्द हुँदा तुरुन्त अस्पताल आउनुभयो भने अरू भागको नसा मर्न पाउँदैन । ६ घण्टा या २४ घण्टा भित्रमा आउनुभयो भने हामीले न्युरो इन्टरभेन्सन प्रविधिबाट खुट्टाको नसाबाट तार पठाएर जहाँ बन्द नसा छ त्यसलाई खोलेर बिरामीलाई पहिलाको जस्तै हिँड्न सक्ने, बोल्न सक्ने बनाउन सक्छौँ । यसमा टी अर्थात टाइम, समयको किन धेरै महत्त्व छ भने बिरामीलाई समयमै तुरुन्तै अस्पताल लिएर जानुप-यो ।

मस्तिष्कघातका कारणहरु केके हुन् ? 

उमेर पनि यसको एउटा कारण हो । उमेर बढ्दै गएको मानिसमा मस्तिष्कघात भेटिन्छ । मस्तिष्कघात अन्तर्गत दिमागको नसा बन्द हुने प्रकार अन्तर्गत जो मान्छे धेरै चिल्लो खान्छ, उसको शरीरमा कोलेस्ट्रोलको मात्रा उच्च हुन्छ । लिपिडको मात्रा उच्च हुन्छ । गुलियो धेरै मात्रामा खानेहरुमा मस्तिष्कघात भएको हामीले भेटेका छौँ । धेरै मात्रामा रक्सी, चुरोट सेवन गर्नेहरुमा पनि मस्तिष्कघात भेटिन्छ । योबाहेक कम उमेरको मानिसमा पनि मस्तिष्कघात हुन्छ ।

यसमा मुटुको समस्या भएको व्यक्तिमा, मुटुको भल्भबाट जति रगत फ्याल्नुपर्ने हो त्यति रगत फ्यालिएन भने मुटुमा रगत जमेर रगतको ढिका हुन्छ । त्यो रगतको ढिका उछिट्टिएर दिमागको सानो वा ठूलो नसामा पुगेर बन्द हुन्छ । कुनै पनि मुटुको रोगी भएको मान्छेले नियमित रूपमा औषधि उपचार गर्नुहुन्न, नियमित रूपमा औषधि सेवन गर्नुहुन्न भने मस्तिष्कघात हुनेगर्छ । हाम्रो शरीरमा रगत पातलो गर्ने एउटा पदार्थ हुन्छ । जो मानिसमा ट्युमर हुन्छ, इन्फेक्सन हुन्छ, रगत बाक्लो गर्ने पदार्थ उत्पन्न हुन्छ, त्यसले गर्दा पनि मस्तिष्कघात हुन्छ । कसैकसैमा जन्मजात रूपमा रगत पातलो गर्ने पदार्थ हुँदैन । त्यस्तो अवस्थामा पनि मस्तिष्कघात हुनेगर्छ ।

मस्तिष्कघातको उपचार पद्धति कस्तो छ ?

मस्तिष्कघात हुँदा दिमागको सानो वा ठूलो नसा बन्द हुने गर्छ । सानो वा ठूलो नसा बन्द भए पनि ४ घण्टाभित्र अस्पताल पु-याउन सकियो भने जमेको रगत पगाल्ने औषधि दिन सक्छौँ । साथै बिरामीको ठूलो नसा बन्द भएको छ भने उसलाई हामी क्याथल्याब भन्ने ठाउँमा ल्याउँछौँ । एक्सरेको मद्दतले खुट्टाको नसाबाट एउटा सानो तार लगेर जुन ठाउँमा बन्द भएको छ त्यो ठाउँसम्म लगेर बन्द भएको नसा खोलेर फेरि मस्तिष्कमा रगत पु-याउँछौँ र यसरी उपचार गर्छौँ ।

टाउको चिरी गरिने अप्रेसन र नचिरी गरिने अप्रेसनमा के फरक हुन्छ ?

न्युरो इन्टरभेन्सन यस्तो उपचार पद्धति हो जसमा दिमागमा पठाउने कुनै पनि रोग दिमागको नसा बन्द हुँदा, दिमागको नसा फुट्दा, दिमागको नसा गुजुल्टो परेर गुच्छा हुँदा टाउको नचिरीकन खुट्टाको नसाबाट तार पठाएर उपचार गर्न सक्छौँ । अहिले नेपालमा पनि यो प्रविधि भित्रिएको छ र यसरी नेपालमा पनि उपचार गर्न सकिन्छ ।

यो पद्धतिबाट उपचार गर्नका लागि हामीलाई विशेष खालको एउटा क्याथल्याब चाहिन्छ । अन्तर्राष्ट्रिय मापदण्डले क्थाल्याब भयो भने बिरामी र अप्रेसन गर्ने सुरक्षित हुने भनेको छ । क्याथल्याबमा लगेर हामी अप्रेसन गर्छौ र एक्सरेको माध्यमबाट समस्या भएको भागमा एकै पटक सबैतिरबाट हेर्न सक्छौँ । बिरामीको टाउकोको अगाडि, पछाडि, साइडमा एकै पटकमा हेर्न सक्छौँ र तत्कालको समयमा कहाँनिर के समस्या छ, हेर्दै त्यसको अप्रेसन गर्न सकिन्छ ।

न्युरो इन्टरभेन्सन पूर्ण रूपमा नेपालमा गर्न थालेको एक डेढ वर्ष भएको छ । त्यसभन्दा अगाडि पनि हुने गरेको थियो तर पूर्ण अवस्थामा गर्न थालेको धेरै भएको छैन ।

यो पद्धति सन् १९९७ देखि सुरु भएको हो, विदेशमा यो प्रकारको पद्धतिबाट उपचार हुँदै आएको छ । भारतमा पनि धेरै वर्षअगाडिदेखि यो पद्धतिबाट उपचार भइरहेको छ । नेपालमा चाहिँ भर्खर भित्रिएको हो ।

यो उपचार पद्धति कतिको महँगो छ ?  

मस्तिष्कघात भएर ठूलो नसा बन्द भएको छ भने सर्जरी गरेर टाउको चिरेर पनि त्यसको उपचार हुँदैन । एउटा तरिका हो रगत पगाल्ने औषधि दिने । त्यसरी पनि भएन भने खुट्टाको नसाबाट गएर दिमागको मोटो नसालाई खोल्ने त्यसलाई हामी न्युरो इन्टरभेन्सन भन्छौँ । यो पद्धतिबाहेक हामीसँग अरू कुनै उपाय छैन । यस्तै दिमागको नसा फुटेर ब्रेन ह्मरेज भयो भने यसलाई दुई तरिकाबाट अप्रेसन गर्न मिल्छ । एउटा जुन ठाउँमा फुटेको हो टाउको खोलेर त्यसलाई सिलाउने काम हुन्छ भने अर्को टाउको नखोलीकन खुट्टाको नसाबाट गएर जहाँ जुन ठाउँमा नसा फुटेको छ भित्रैबाट त्यसलाई सिलाउन सकिन्छ ।

यसको राम्रो पक्ष भनेको बिरामीको टाउको चिर्नु परेन । यसकारण दिमागमा ठूलो घाउ हुने भएन । अर्को कुरा यो अप्रेसन गर्दा कम समयको बेहोस बनाए पुग्छ । कम समय बेहोस बनाउँदा अन्य रोगहरु लागेका बिरामी, कडा खालका रोग लागेका बिरामीले पनि खप्न सक्ने हुन्छ । खुट्टामा सानो ३ एमएमको घाउ बनाएर अप्रेसन गरिने भएकाले बिरामीलाई कम आईसीयूमा राख्छौँ र वार्डमा सार्छौं । सामान्यतया अप्रेसनपछि चार वा पाँच दिनमा बिरामीलाई घर पठाउने गर्छौं ।

नेपालमा र भारतमा यो पद्धतिबाट गर्ने अप्रेसनका लागि चाहिने तार अमेरिका, युरोपबाट ल्याउनुपर्ने भएकाले अलि खर्चिलो हुन्छ । नेपालमा भर्खर मात्र सुरु भएकाले सरकारले त्यस्ता समान ल्याउँदा सरकारले केही राहत दियो भने आगाामी दिनमा उपचारमा लाग्ने लागतमा कम गर्न सक्ने थियौँ । बाहिर सामान बन्ने भएका कारण महँगो पर्छ । यो पद्धतिबाट बिरामीको उपचार गर्दा दुई तीन लाखदेखि ५ लाखसम्मको खर्च लाग्छ । केश हेरीकन कति सामान लाग्छ त्यही अनुसार खर्च हुने गरेको छ । खर्च बढी भए पनि यसको फाइदा भनेको कम समय बिरामीलाई अस्पताल राख्नुपर्ने, टाउको खोल्न नपर्ने, ठूलो घाउ बनाउन नपर्ने, चाँडोभन्दा चाँडो घर पठाउन सक्ने यसका फाइदाहरु हुन् ।

यसरी उपचार गर्दा सफलता दर कस्तो पाउनुभएको छ ?

यो प्रविधिबाट उपचार गर्दा किताबमा हामी ८५ देखि ९० प्रतिशत सफलता दर हुन्छ भनेर पढ्छौँ । यसको जटिलता दर कम छ । मैले पनि नेपालमा १ सय ५० जनाभन्दा बढीको उपचार गरिसकेको छु । दिमागको नसा बन्द भएको, दिमागको नसा गुजुल्टो परेको, नसा च्यातिएर रगत बगेको, दिमागको नसा च्यातिएर ब्रेन ह्यामरेज भएको मात्र ४० भन्दा बढी केसको उपचार गरेको छु । तीमध्ये एकजना बिरामीमा जटिल अवस्था भएर मृत्य भएको थियो । तीबाहेक अन्य बिरामीको उपचार सफल भएको छ, उहाँहरु फलोअपमा पनि आउने गर्नुहुन्छ ।

मस्तिष्कघात हुन नदिन के गर्ने ? केके छन् सावधानीका उपाय ?

मस्तिष्कघात हुन नदिन सबैभन्दा पहिला जो बिरामी हाइपर टेन्सनको रोगी हुनुहुन्छ, मधुमेह भएको छ, उहाँहरुले नियमित रूपमा औषधि सेवन गर्नुपर्छ । दोस्रो जो बिरामीलाई मुटुको समस्या छ, उहाँहरुले नियमित रूपमा मुटुको डाक्टरलाई देखाउने र औषधि खान छुटाउनु भएन । नियमति रूपमा व्यायामहरु गर्ने, बिहान बेलुका नियमित रूपमा हिँडडुल गर्ने, शारीरिक कसरतहरु गरियो भने शरीरमा भएको चिल्लो पदार्थहरु कम हुने गर्छ ।

त्योबाहेक हामीले खानामा एकदमै ध्यान पु-याउनुपर्ने हुन्छ । चिल्लो कुरा सकेसम्म कम खानुप-यो । गुलियो कुरा सकेसम्म कम खानुप-यो । जाँड, रक्सी, चुरोटको सेवन कम गर्नुप-यो वा गर्दै गर्नुभएन । जीवनशैली सुधार्नु नै सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । यी कुराहरुको पालना गरेमा मस्तिष्कघातबाट बच्न सक्छौँ ।

source from: https://www.ratopati.com/story/143455/brain-stroke