‘टाउको चिरफार नगरी मस्तिष्कघातको उपचार नेपालमै सम्भव छ’

Ratopati

काठमाडौँ । मस्तिष्कघात अर्थात् स्ट्रोक भयो भने अब टाउको चिरफार नगरी नेपालमै उपचार सम्भव रहेको चिकित्सकहरूले जनाएका छन् । न्यूरो हस्पिटल बाँसबारीका कन्सल्ट्यान्ट न्यूरो इन्टरभेन्टिस डा सुवास फुयालका अनुसार  मस्तिष्कघात हुँदा न्यूरो इन्टरभेन्सन पद्धतिबाट उपचार गरी जीवनभर हुने (प्यारालाइसिल)बाट जोगिन सकिन्छ । मस्तिष्कघात हुँदा टाउको चिरफार नगरी तारको माध्यमबाट उपचार गर्न सकिन्छ ।

नेपालमा पहिलो पटक ‘बाइ प्लेन क्याथल्याब’मार्फत् ‘न्यूरो इन्टरभेन्सन’ पद्धतिबाट बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्यूरो हस्पिटलमा उपचार गरिन्छ । के हो त मस्तिष्कघात हुँदा टाउको नचिरीकन उपचार गर्ने प्रविधि ? प्रस्तुत छ, न्यूरो हस्पिटलका बाँसबारीको कन्सल्ट्यान्ट न्यूरो इन्टरभेन्टिस डा. सुवास फुयालसँग माया श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंशः 

न्यूरो इन्टरभेन्सन भनेको के हो ?

यो नयाँ आधुनिक उपचार पद्धति हो । न्यूरो भनेको दिमाग अनि इन्टरभेन्सन भनेको एक प्रकारको उपचार हो ।  

दिमागमा रगत लिएर जाने कुनै नसा बन्द भएमा त्यसलाई (स्ट्रोक) मस्तिष्कघात भनिन्छ । दिमागमा रगत लिएर जाने कुनै नसा बन्द भएमा, नसा फुलेर फुट््दा अर्थात् ब्रेन ह्याम्रेज हुँदा दिमागको नसामाथि गुच्छा भएको अवस्थामा न्यूरो इन्टरभेन्सनमार्फत् उपचार गरिन्छ । 

यस्तोमा उपचारका लागि न्यूरो इन्टरभेन्सन अति उपयुक्त प्रविधि हो । यस प्रविधिबाट खुट्टा र हातका नसाबाट दिमागमा तारको माध्यमबाट क्यामराले हेर्दै जुन ठाउँमा नसा बन्द भएको छ, यन्त्र प्रयोग गरी त्यसलाई खोलिन्छ । 

यस्तै, जुन ठाउँमा नसा फुटेको छ, त्यस ठाउँमा तारकै माध्यमबाट सिलाउन सकिन्छ । र, जुन दिमागमा गुच्छा बनेर बसेको छ, त्यो पनि तारकै माध्यममार्फत् भित्रैबाट सिलाउन सकिन्छ ।

नेपालमा न्यूरो इन्टरभेन्सन प्रविधि कहिले भित्रियो ?  

नेपालमा न्यूरो इन्टरभेन्सन भित्रिएको धेरै भएको छैन । सन् २०१५ भन्दा अघि मोटो दिमागको नसा बन्दा हुँदा रगत पगाल्ने औषधि दिइन्थ्यो । तर, यसले राम्रो काम गर्दैनथ्यो । 

हामीले पहिलो मस्तिष्कघात भएको बिरामीको यस प्रविधिमार्फत् उपचार सन् २०१९  मार्चमा गरेका थियौं । जबकि यस पद्धतिबाट उपचार गर्न पहिले विदेश जानुपर्थ्यो ।  

न्यूरो इन्टरभेन्सन उपचार पद्धति नेपालमा कम छ । ग्राण्डी अस्पताल र बाँसबारीको न्यूरो अस्पतालमा यस पद्धतिबाट उपचार गरिन्छ ।  

मस्तिष्कघातलाई थप कसरी बुझ्न सकिन्छ ?

मस्तिष्कघातलाई ब्रेन अट्याक पनि भनिन्छ । यसलाई स्ट्रोक पनि भनिन्छ । जस्तै मुटुको नसामा केही अवरोध भएमा हार्टअट्याक तथा हृदयाघात हुन्छ । यसरी दिमागको नसा बन्द भयो भने  त्यहाँ रगत पुग्दैन अनि दिमागको कोशिका बन्द हुँदै जान्छ । 

उदाहरणका लागि जस्तै घरमा आगो लाग्यो भने एकैपटक खरानी हुँदैन । त्यस्तै दिमागको नसा बन्द भयो भने पनि दिमागमा आगो लागेजस्तै हो ।  हरेक मिनेटमा दिमागको नसा बन्द हुँदै जाने अर्थात् मर्दै जान्छ । समयमै बन्द भएको नसालाई खोल्न सकिएमा दिमागमा मरिसकेको नसालाई बचाउन त सकिँदैन । यद्यपि दिमागको नमरेको नसालाई भने जोगाउन  सकिन्छ । 

घरमा आगो लाग्ने बित्तिकै दमकल बोलाएर फटाफट पानी हालेर निभाएको खण्डमा त्यसको धेरै हिस्सा बचाउन सकिन्छ । त्यस्तै, दिमागको नसा बन्द भएपछि तत्काल अस्पताल ल्याएर दिमागको नसालाई न्यूरो इन्टरभेन्सन पद्धतिबाट खोलियो भने प्यारालाइज भई हिँड्न नसकेको बिरामी, बोल्न नसक्ने बिरामी पुनः बोल्न, हिँड्न सक्छन् ।

एक्कासि हुने मस्तिष्कघातको लक्षण पहिला नै पहिचान गर्न सकिन्छ त ?

मस्तिष्कघात  हुनुभन्दा अघि ६ वटा लक्षण देखा पर्छ । मेडिकल्ली भाषामा यसलाई ‘बीइ फास्ट’ पनि भनिन्छ । जस्तै, बी–ब्यालेन्स बिग्रिनु अर्थात् शारीरिक रूपमा शरीर स्थिर हुँदैन । शरीर धान्न गाह्रो भएको जस्तो हुने हुन्छ । इ–आँखा जसले एक्कासि धमिलो देख्नु वा नदेख्नु । 

एफ– भनेको फेस । बोल्दा बोल्दै मुख बाङ्गो हुनु,  ए– आर्म, हात वा खुट्टा एक्कासि कमजोर हुनु । जस्तै हात चियाको कप उचाल्दै छ भने उचाल्न नसकेर भुइँमा खस्नु, हात सिधा नहुनु । एस–इस्पिच अर्थात् बोलीमा लरबरावट आउनु । र, टी–टाइम अर्थात् समयमा तत्काल पुर्‍याउन सकिन्छ । 

दिमागमा नसा बन्द हुँदा टाउको दुख्दैन । बिरामीलाई जुन रोग लागेपनि दुख्यो वा सहन नसक्ने गरी गाह्रो भयो भने मात्र अस्पताल पुग्ने गर्छन् । मुटुमा नसा बन्द हुँदा हृदयाघात हुँदा धेरै दुखेपछि सहन नसकेर बल्ल बिरामी अस्पताल पुग्छन् । त्यसैले, जोगाउन गाह्रो हुन्छ ।

मस्तिष्कघात भएको कति समयभित्र पुर्‍याउन सके बिरामी जोगाउन सकिन्छ ?

बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पुर्‍याउनुपर्छ । लक्षण देखिएको २४ घण्टाभित्रै अस्पतालमा पुर्‍याएमा बिरामीलाई पहिलाकै अवस्थामा ल्याउन सकिन्छ । बिरामीलाई तारको माध्यमबाट नसा खोलेपछि पहिलाको जस्तै बनाउन सकिन्छ । सन् २०१५ को अध्ययनले  मस्तिष्कघात भएको ६ घण्टा भित्र न्यूरो इन्टेरभेन्सन भएको अस्पताल पुग्नेमा यस पद्धतिबाट निको पार्न सकिन्छ । 

मस्तिष्कघात कस्तो व्यक्तिलाई लाग्न सक्छ ? 

यो रोग लाग्न यही नै कारण भन्ने त हुँदैन । यद्यपि ५० वर्ष उमेर माथिकालाई मस्तिष्कघात बढी देखिएको छ । चिनी रोग लागेको बिरामीहरू, व्लडप्रेस बढी भएका बिरामीहरूमध्ये पनि जसले नियमित रूपमा औषधि खाँदैनन्, उनीहरूमा यो समस्या देखिन सक्छ । 

त्यस्तै, धुम्रपान, सुर्तीजन्य पदार्थ सेवन गर्ने, अत्यधिक मद्यपान गर्ने बिरामीहरूमा मस्तिष्कघात लागेको पाइन्छ । 

मुटुको रोग भएका व्यक्तिलाई जस्तै मुटुले नै राम्रोसँग रगत फाल्न सकेन, बिरामीले नियमित रूपमा राम्रोसँग औषधि नलिएको खण्डमा यस्तो समस्या देखिएको छ । कतिपय क्यान्सरहरूले रगत बाक्लो बनाउने गर्छ । रगत बाक्लो बनाउने तत्त्वहरूका कारण पनि मस्तिष्कघात हुन सक्छ । 

मस्तिष्कघातका कारण हुने मृत्यु र अपाङ्गता दर कस्तो छ ?

मस्तिष्कघातका कारण हुने मृत्यु र अपाङ्गता दर विश्वमा तेस्रो नम्बरमा पर्छ । यो रोग विकसित राष्ट्रमा भन्दा विकासशील तथा अल्पविकसित राष्ट्रहरूमा बढ्दै गएको पाइएको छ । 

विकसित देशमा मस्तिष्कघात हुँदा तत्काल उपचार गर्नुपर्छ भन्ने जनचेतना भएकाले अपाङ्गता र मृत्यु दर कम छ । रोग लाग्ने दर उही भएपनि उपचारको पहुँचमा धेरै पुग्ने भएकाले विकसित देशमा मृत्यु दर कम छ । 

मस्तिष्कघात हुन नदिन के गर्ने ? 

यसमा खानपानदेखि जीवनशैली सुधार्नुपर्छ । धुम्रपान, सुर्तीजन्य पदार्थ सेवन, मद्यपान गर्नु हुन्न ।

source from: https://www.ratopati.com/story/381431/dr-subash-phuyal-