इन्टरभेन्सनल रेडियोलोजी सेवा उपचारमा मौलाउँदै

Nepalhealthnews

अहिलेसम्म रेडियोलोजी विषय रोगको डायग्नोसिस (निदान) मा मात्र सिमित थियो । अब भने इन्टरभेन्सनल रेडियोलोजीमार्फत निदान मात्र नभई थेराप्युटिक( उपचार) मा पनि अत्यधिक उपयोगी सिद्ध भएको छ । त्यसमा पनि मिनिमल इन्भेसिभ भएका कारण यस उपचार विधिमा टाउको भित्रको शल्यक्रिया टाउको नखोली हुने भएकाले सर्जरीमा हुने जटिलटा कम हुने साथै आईसियूमा बिरामीको बसाई पनि कम हुने गरेको छ । बिरामी छिट्टै रिकभरी भई छिट्टो घर फर्कन सकिने भएकाले धेरै बिरामीहरु यस प्रविधिलाई रुचाउन थालेको पाइन्छ ।

शरीरका हरेक अंग चलाउने मुख्य केन्द्र मस्तिष्क हो । मस्तिष्कले शरीरका विभिन्न अंगको नियन्त्रण गर्दछ । त्यसैले मस्तिष्कमा रहेको हात चलाउने केन्द्रमा रगत नपुगेमा हात चल्दैन, खुट्टा चलाउने केन्द्रमा रगत नपुगेमा खुट्टा चल्दैन ।

नसामा हुने समस्या समाधान गर्न न्यूरो इन्टरभेन्सनल रेडियोलोजी प्रभावकारी देखिएको छ । यो नयाँ आधुनिक सुपरस्पेसलाइजेसन प्रविधि हो । जसमा मिनिमल इन्भेजिव प्रविधिबाट मस्तिष्क (दिमाग) मा रगत लिएर जाने नसाका समस्या डायग्नोसिस (निदान) र थेरापेटिक (उपचार) दुवै गरिन्छ ।

मुटुबाट निस्कने रगत, नसाको माध्यमबाट मस्तिष्क, हातगोडा, पेटलगायका अंगमा पुगेको हुन्छ । इन्टरभेन्सनल पद्धतिबाट खुट्टा वा हातमा ३ मिलिमिटर (एमएम) को सानो अस्थायी प्वाल बनाएर यसबाट क्याथेटर छिराउने र दिमागको नसासम्म पु–याएर समस्या क्याथल्याबमा हेरिन्छ । रोग पहिचान गरेर नसा बन्द भएमा भित्रभित्रैबाट खोल्ने, फुलेको र फुटेको अवस्थामा सिलाइन्छ जसलाई क्वाइलिङ भनिन्छ ।

मस्तिष्कघात (स्ट्रोक) समस्यामा
अमेरिकाको हार्वर्ड यूनिभर्सिटीका अनुसार, मस्तिष्कमा एक सय बिलियन कोशिकाहरू हुन्छन् । मस्तिष्कघातले रक्तनसा बन्द भई उपचार नपाएको खण्डमा प्रतिमिनेट करिब २० लाख (दुई मिलिएन) ब्रेनका कोशिका मर्छन् । त्यसैले मस्तिष्कघातलाई एक्युट मेडिकल इमर्जेन्सी (आपत्कालीन स्वास्थ्य समस्या) भनिन्छ । विगतमा स्ट्रोक (मस्तिष्कघात) को उपचार थ्रोम्बोलाइसिसमा मात्र सिमित थियो । यस प्रविधिमा मस्तिष्कको ठूलो नसा बन्द भएमा रगत पगाल्ने औषधि दिइन्थ्यो । प्यारालाइसिस भइसकेपछि ओछ्यानमा बस्नुको विकल्प थिएन । तर, अहिले मस्तिष्कको नसा बन्द भएको ६ घण्टाभित्र अस्पताल पु–याउन सके न्यूरो इन्टरभेन्सन प्रविधिबाट रगतको थेग्लो निकाली बिरामीलाई पूर्ववत अवस्थामा फर्काउन सकिन्छ । तर, समस्याको जटिलताको आधारमा २४ घण्टासम्म पनि यस्ता बिरामी अस्पताल पु¥याउन सकेमा राम्रोसँग रिकभर हुनसक्छ । प्यारालाइसिस भएर बाँच्नु पर्दैन ।

अमेरिकन स्ट्रोक एसोसिएसनले पनि यस प्रकारको समस्यामा बिरामीको उपचारका लागि न्यूरो इन्टरभेन्सनल रेडियोलोजी नै विकल्पको रुपमा अघि सारेको छ । न्यूरो इन्डोभास्कुलर प्रविधिमा हात वा खुट्टाको नसाबाट क्याथेटर पठाएर मस्तिष्कको रगतको नसाभित्र जमेको रगतको थेग्लो निकालिन्छ ।

सफल दर
विभिन्न अध्ययनहरूका अनुसार मस्तिष्कघात, एन्युरिजम र ब्रेन ह्यामरेज (नशा च्यातिएको) भएका बिरामीको उपचार गर्दा १० देखि १५ प्रतिशत कम्लिकेसन पनि हुनसक्छ । तर, न्यूरो इन्टरभेन्सन प्रविधिले गर्दा यस अस्पतालमा सफलता दर करिब ९५ प्रतिशतसम्म छ । यस पद्धतिमा टाउको नखोल्ने भएकाले ३–५ दिनमै बिरामीलाई डिस्चार्ज गर्न सकिन्छ । बिरामीको उपचारमा धेरै कम जोखिम हुन्छ र डाक्टरहरूलाई पनि उपचार गर्न सहज हुन्छ ।

चमत्कार झै लाग्यो
सन् २०१५ तिर मस्तिष्कघात (स्ट्रोक) को उपचारसम्बन्धी अन्तर्राष्ट्रिय गाइडलाइन बन्यो । अमेरिकन स्ट्रोक एसोसियसन र हार्ट एसोसियसनले मस्तिष्कको नसा बन्द भएको अवस्थामा पनि तार छिराएर खोल्ने उपचारसम्बन्धी गाइडलाइन बनाए ।
त्यसबेला मैले अध्ययन गरिरहेको अस्पतालमा मस्तिष्कको नसा बन्द भएका धेरै बिरामीलाई सिनियर डाक्टरहरूले इन्टरभेन्सन पद्धतिबाट उपचार गराएर हिँड्न, बोल्न सक्ने बनाएर पठाउन थाल्नुभयो । त्यतिवेला यो उपचार पद्धति चमत्कार झैं लाग्थ्यो । म भारतको पिजिआई चण्डिगढमा काम गर्दै थिएँ र एमडीको अन्तिम वर्षमा थिएँ । मलाई इन्टरभेन्सन प्रविधिले धेरै आकर्षित ग–यो । तालिम सकिएपछि यो उपचार पद्धति नेपालमा सुरु गर्ने सोच बोकेर फर्किएको थिएँ । नेपालमा काम गर्दा ‘स्ट्रोक’ भएका धेरै बिरामी आउँथे ।

फेब्रुअरी, २०१९ देखि ग्रान्डी अस्पतालमा सिंगल क्याथल्याबबाट न्यूरो इन्टरभेन्सन सेवा सुरु गरेँ । केही समय विभिन्न अस्पतालका डाक्टरलाई स्ट्रोकले नसा बन्द भएको अवस्थामा न्यूरो इन्टरभेन्सन पद्धतिबाट नसा खोल्न मिल्छ, म गर्न सक्छु भन्दै हिँड्नुप¥र्यो । अप्रिल महिनाको अन्त्यतिर नर्भिक अस्पतालका डाक्टर पंकज जलानले एकजना बिरामी पठाउनुभयो । बिरामीको नसा पूरै बन्द थियो, प्यारालाइसिस भएर एउटा हात खुट्टा नचल्ने भइसकेको थियो । हामीले तुरुन्तै क्याथल्याबमा लगेर नसा खोल्यौं । २–३ दिनमा बिरामी हिँड्न र बोल्न सक्ने भए । त्यसपछि बिरामीलाई डा. जलान भएकै ठाउँमा पठाइदिएँ । त्यसपछि बिस्तारै बिरामीको संख्या बढ्न थाल्यो । सबैले न्यूरो इन्टरभेन्सनबारे थाहा पाउन थाले । केही समयपछि सुत्ने समय पनि पाइएन । मैले ग्रान्डी अस्पतालमा एक वर्षको अवधिमा दुई सयभन्दा बढी ‘स्ट्रोक’ भएका बिरामीको सफल उपचार गरे ।
यसैबीच, उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पतालले पहिलोपटक न्यूरो इन्टरभेन्सनसम्बन्धी ‘गोल्ड स्टेन्डर्ड बाइप्लेन क्याथल्याब’ भित्र्यायो । यो नेपालको लागि नयाँ सुरुवात थियो । तत्पश्चात् बिरामीलाई उत्कृष्ट सेवा यही अस्पतालबाट दिँदै आएको छु ।

हालसम्म एक हजारभन्दा बढी बिरामीको न्यूरो इन्टरभेन्सनल प्रविधिबाट सफल उपचार भइसकेको छ ।


(डा. फुयाल न्यूरो इन्टभेन्सनल रेडियोलोजीमा डीएम गर्ने पहिलो नेपाली चिकित्सक हुनुहुन्छ । उहाँले अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) बाट डीएम गर्नुभएको छ । हाल उहाँ उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पतालमा कार्यरत हुनुहुन्छ ।)

source from: https://nepalhealthnews.com/news/2023/03/28/50657.html