न्युरो इन्टरभेन्सनका अब्बल युवा डाक्टर

Nepalhealthnews

डा. सुवास फुयाल न्युरो इन्टरभेन्सनमा डीएम गर्ने पहिलो नेपाली चिकित्सक हुनुहुन्छ । उहाँले अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेज (एम्स) बाट डिएम गर्नुभएको हो ।

यसअघि उहाँले ग्रान्डी हस्पिटलमा रहेको सिंगल क्याथल्याबबाट २ सयको सफल उपचार गर्नुभएको थियो । तसर्थ २ वर्षको अवधिमा ६ सयभन्दा बढीको ज्यान जोगिएको छ । अमेरिकाको हारवर्ड विश्वविद्यालयका अनुसार, मस्तिष्कमा १०० बिलियन कोशिकाहरु हुन्छन् । मस्तिष्कघातले रक्तनसा बन्द भई उपचार नपाएको खण्डमा प्रतिमिनेट करिब २० लाख ब्रेनका कोशिका मर्दछन् । त्यसैले मस्तिष्कघातलाई एक्युट मेडिकल इमर्जेन्सी (आपतकालीन स्वास्थ्य समस्या) भनिन्छ ।

न्युरो इन्डोभास्कुलर प्रविधिमा हात वा खुट्टाको नसाबाट क्याथेटर पठाएर मस्तिष्कको रगतको नसा भित्र जमेको रगतको थेग्लो निकालिन्छ । मस्तिष्कको भास्कुलर समस्या जस्तै, एन्युरिजम (रक्तनलीको फोको), घाँटीको नसा सुक्ने, मेरुदण्डको नसा सम्बन्धि समस्यामा पनि न्युरो इन्टरभेन्सन पद्धति निकै प्रभावकारी मानिएको छ ।

विगतमा स्ट्रोक (मस्तिष्कघात) को उपचार थ्रोम्बोलाइसिसमा मात्र सिमित थियो । यस प्रविधिमा मस्तिष्कको ठूलो नसा बन्द भएमा रगत पगाल्ने औषधि दिइन्थ्यो । प्यारालाईसिस भइसकेपछि ओछ्यानमा बस्नुको विकल्प थिएन । तर अहिले मस्तिष्कको बन्द भएको नसा ६ घण्टाभित्र अस्पताल पु¥याउन सकेमा न्युरो इन्टरभेन्सन प्रविधिबाट रगतको थेग्लो निकाली विरामीलाई पूर्ववत अवस्थामा फर्काउन सकिन्छ । तर समस्याको जटिलताको आधारमा २४ घण्टासम्म पनि यस्ता बिरामी अस्पताल पु¥याउन सकेमा राम्रोसँग रिकभर हुनसक्छ । प्यारालाईसिस भएर बाँच्नु पर्दैन ।

यस पद्धतिमा टाउको नखोल्ने भएकाले २—३ दिनमै बिरामीलाई डिस्चार्ज गर्न सकिन्छ । बिरामीको उपचारमा जोखिम धेरै कम हुन्छ । चिकित्सकलाई पनि उपचार गर्न सहज हुन्छ । यसै सेरोफेरोमा रहेर जनस्वास्थ्य सरोकार राष्ट्रिय मासिकले डा. फुयालको करियरसम्बन्धि अन्तर्वार्ता प्रस्तुत गरेको छ ।

आफ्नो व्यक्तित्व र पारिवारिक प्रेरणाबारे बताइदिनुस् न ?

मेरो जन्म विराटनगरमा भएको हो । पिता सरकारी जागिरे हुनुुहुन्थ्यो । उहाँको सरुवा भइरहन्थ्यो । हामी पनि सँगै जान्थ्यौँ । सरुवाका कारण मैले स्कुल परिवर्तन गरिरहनुपथ्र्यो । कहिले काठमाडौँ त कहिले काँकडभिट्टा । सन् २००१ मा मैले झापाको सुरुङ्गास्थित पशुपति माध्यमिक विद्यालयबाट एसएलसी पास गरेँ । पढाइमा अब्बल देखेर बुवाआमाले मलाई सानैदेखि डाक्टर बन्नुपर्छ भन्नुहुन्थ्यो । त्यसपछि उच्च शिक्षा हाँसिल गर्न काठमाडौं आएँ । आईएस्सी अध्ययन गरेँ ।

यहाँको डाक्टरी अध्ययन बारेको अनुभव के छ ?

त्यसपछि एमबीबीएसको इन्ट्रान्स (प्रवेश परीक्षा) तयारीमा जुटेँ । एमबीबीएस प्रवेश परीक्षामा नाम निस्कियो । त्यसपछि काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालमा पढेँ । एमबीबीएसको अन्तिम इन्टर्नसिप चरणमा आएपछि सर्जरीभन्दा पनि रोग पत्ता लगाउने रेडियो डायग्नोसिस तर्फ जाने इच्छा जाग्यो । रेडियो डायग्नोसिस अध्ययन गर्ने निधो भयो । जसरी पनि नाम निकाल्नु थियो । रातदिन नभनी मेहनत गरेर पढेँ । अल इन्डिया मेडिकल साइन्स र पीजीआई चण्डिगढमा प्रवेश परीक्षा दिएँ । दुवै ठाउँमा नाम निस्कियो । मैले खोजेको विषय पीजीआई चण्डिगढमा भएकाले त्यही अध्ययन शुरु गरेँ । रेडियोलोजीभित्र सिटी स्क्यान, एमआरआई र अल्ट्रासाउन्ड पर्छ । सन् २०१५ तिर मस्तिस्कघात (स्ट्रोक) को उपचारसम्बन्धी अन्तर्राष्ट्रिय गाइडलाइन बन्यो । अमेरिकन स्ट्रोक एसोसियसन र हार्ट एसोसियसनले दिमागको नसा बन्द भएको अवस्थामा पनि तार छिराएर नसा खोल्ने उपचारसम्बन्धी गाइडलाइन बनाए । त्यतिखेर म पिजिआई चन्डिगढमा काम गर्दै थिएँ र एमडीको फाइनल वर्षमा थिएँ । मलाई इन्टरभेन्सन प्रविधिले धेरै आकर्षित ग¥यो ।

आफूलाई कसरी अब्बल बनाउँदै अघि बढ्नुभयो ?

यो उपचार पद्धति संसारभर नै व्यापक रुपमा सुरु भइरहेको थियो । मैले अध्ययन गरिरहेको अस्पतालमा मस्तिष्कको नशा बन्द भएका धेरै बिरामी आउन थाले । मेरो सिनियर डाक्टरहरुले इन्टरभेन्सन पद्धतिबाट रगतका नसा खोलेर बिरामीलाई हिँड्न, बोल्न सक्ने बनाएर पठाउन थाल्नुभयो ।

नेपाल फर्किने बित्तिकै काम पाउन गाह्रो भयो । त्यतिबेला ग्रान्डी अस्पताल भर्खरै सञ्चालनमा आएकोले त्यहाँ काम गर्ने अवसर मिल्यो । स्ट्रोक भएर धेरै बिरामी अस्पताल आउँथे । म फेरि न्युरो इन्टरभेन्सनमा तीन वर्षको डीएम कोर्ष गर्न भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पताल तिर लागँे । सो अवधिमा इन्टरभेन्सन प्रविधि (स्ट्रोक भएको बिरामीको टाउको नखोली गरिने उपचार) बारे राम्रो ज्ञान हाँसिल गरेँ । त्यो बेला भारतका धेरै अस्पतालमा काम गर्ने अवसर मिलेको थियो । तर आफ्नै देशमा सेवा गर्ने उद्देश्यले पुनः नेपाल फर्किएँ । सुरुमा काम गर्न कठिन भयो । तर यतिकै चुप लागेर बस्ने अवस्था पनि थिएन ।

के हो न्युरो इन्टरभेन्सन ?

बिना शल्यक्रिया हात या खुट्टाको नशाबाट क्याथेटर छिराएर समस्याग्रस्त मस्तिष्कको नसाको उपचार गर्ने नयाँ प्रविधिलाई न्युरो इन्टरभेन्सन सर्जरी भनिन्छ । बन्द भएको मस्तिष्कको नसा खोल्ने, नशामा गुच्छा भए नसा बन्द गर्ने र नसा च्यातिएर ह्यामरेज भए भित्रबाटै सिलाउन सकिने अत्याधुनिक प्रविधि हो यो ।

शुरुका दिनमा भएका संघर्षबारे कस्तो अनुभव छ ?

सन् २०१९ फेब्रुअरी महिनादेखि ग्रान्डी अस्पतालमा सिंगल क्याथल्याबबाट न्युरो इन्टरभेन्सन सेवा सुरु गरेँ । केही समय विभिन्न अस्पतालका डाक्टरलाई स्ट्रोकले नसा बन्द भएको अवस्थामा न्युरो इन्टरभेन्सन पद्धतिबाट नसा खोल्न मिल्छ, म गर्न सक्छु भन्दै हिँड्नुप¥र्यो । अप्रिल महिनाको अन्त्यतिर नर्भिक अस्पतालका डाक्टर पंकज जलानले एकजना बिरामी पठाउनुभयो । बिरामीको नसा पूरै बन्द थियो, प्यारालाइसिस भएर एउटा हातखुट्टा नचल्ने भइसकेको थियो । हामीले तुरुन्तै क्याथल्याबमा लगेर नसा खोल्यौं । दुई तीन दिनमा बिरामी हिँड्न र बोल्न सक्ने भए । त्यसपछि बिरामीलाई डा. जलान भएकै ठाउँमा पठाइदिएँ । त्यसपछि बिस्तारै बिरामीको संख्या बढ्न थाल्यो । सबैले न्युरो इन्टरभेन्सनबारे थाहा पाउन थाले । केही समयपछि सुत्ने समय पनि पाइएन । मैले ग्रान्डी अस्पतालमा एक वर्षको अवधिमा २ सयभन्दा बढी स्ट्रोक भएका बिरामीको सफल उपचार गरेँ । यसैबीच उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पतालले न्युरो इन्टरभेन्सन सम्बन्धी गोल्ड स्टैन्डर्ड बाइप्लेन क्याथल्याब भित्र्यो । यो नेपालकै लागि नयाँ शरुवात थियो । तत्पश्चात् बिरामीलाई उत्कृष्ट सेवा यही अस्पतालबाट दिँदै आएको छु । सीप भएको मानिसलाई नयाँ प्रविधि सुनमा सुगन्ध झैं हुने रहेछ । बाइप्लेन मेसिन आएपछि बिरामीको रिजल्ट झनै राम्रो भयो । समयको पनि बचत हुने ।

टिमवर्कको भूमिकाबारे बताइदिनुस् न ?

कुनै पनि विधाको पहिलो डाक्टर हुँदा विभिन्न किसिमका कठिनाइ आउने रहेछन् । मैले पनि धेरै कठिनाइको सामना गर्नुप¥यो । न्युरो इन्टरभेन्सनका लागि टिमवर्क चाहिन्छ । यस न्युरो अस्पतालमा मैले यहाँका न्युरो सर्जन, न्युरोलोजिष्ट, एनेस्थेसिस्ट र अरु प्राविधिहरुबाट राम्रो सहयोग पाएको छु । मलाई मद्दत गर्ने नर्स, टेक्निसियन र मेसिन चलाउने व्यक्तिहरु क्षमतावान हुनुहुन्छ । नेपालमा यो विधा नयाँ भएकाले मैले नर्सदेखि टेक्निसियन सम्मका सम्बन्धित टीमलाई तालिम दिई सेवा अघि बढाइयो ।

प्रा.डा. उपेन्द्र देवकोटालाई कसरी सम्झनुहुन्छ ?

नेपालमा न्युरो सर्जरीलाई स्थापित गर्न प्रा. डा. देवकोटाको ठूलो योगदान छ । सानैदेखि उहाँको नाम सुनेको थिएँ । उहाँ हाम्रा लागि ‘आइडल पर्सन’ हुनुहुन्छ । दूर्भाग्यवश उहाँसँग भेट्ने मौका पाइनँ । दूरदराजका बिरामीलाई उहाँले दिएको उपचार सेवाबाट प्रभावित भएको थिएँ । न्युरो इन्टरभेन्सन प्रविधि डा. देवकोटाको ड्रिम प्रोजेक्ट नै थियो । उहाँे यसका लागि सबै तयारीको ब्लु प्रिन्ट समेत तयार गरिसक्नुभएको रहेछ । यो थाहा पाएपछि मलाई झनै हौसला मिल्यो ।

यहाँको भावी योजना के छ ?

न्युरो इन्टरभेन्सन प्रविधिमा प्रयोेग हुने सामान सबै युरोप र अमेरिकाबाट ल्याउनुपर्छ । उपकरण महँगा छन् । सरकारी अस्पतालमा होस् या निजी, न्युरो इन्टरभेन्सन पद्धतिबाट उपचार गर्न जटिलताको आधारमा ५० हजारदेखि २० लाख रुपियाँसम्म खर्च लाख्नसक्छ । यो उपचारलाई सस्तो बनाउन सरकारले उपकरण आयातमा कर लिनुहुँदैन । त्यसैगरी, स्ट्रोक र प्यारालाइसिस भई न्युरो इन्टरभेन्सन उपचार चाहिने बिरामीका लागि स्ट्रोक फाउन्डेसन बनाउनुपर्छ । यसलाई सरकारले सहयोग गरे गरिब एवं विपन्न बिरामीले सस्तोमा उपचार पाउन सक्छन् । सरकारी अस्पतालमा यो सेवा विस्तार गर्नुपर्छ । न्युरो इन्टरभेन्सन विधामा आउन चाहने डाक्टरका लागि मेरो नेपालमै फेलोसिप, वर्कसप, ट्रेनिङ प्रोग्राम राख्ने योजना छ । स्वदेशमै दक्ष जनशक्ति बनाउन सक्यौं भने उपत्यकाबाहिरका शहरमा पनि सेवा विस्तार गर्न सकिन्छ । जसबाट बिरामी लाभान्वित हुनसक्छन्

source from: https://nepalhealthnews.com/news/2021/10/04/38295.html